जानकी पोस्ट, १५ वैशाख, काठमाडौं । चीनको वुहान (China Wuhan)सहरबाट कोरोना भाइरस(Coronavirus) (कोभिड–१९) को महामारी विश्वभर फैलिएको थियो । आइतबार त्यही वुहानमा कोरोना भाइरसका बिरामीको संख्या शून्यमा भएको छ । सबै कोरोनाबाट ग्रसित बिरामीहरु निको भइ घर फर्किएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले यो उपलब्धि वुहानका स्वास्थ्यकर्मीको कडा मेहनत र उनीहरूको सहयोगको कारण नै सम्भव भएको बताएका छन् ।
गत वर्षको डिसेम्बरमा पहिलोपटक कोभिड-१९(Covid-19) भनिने नोभल कोरोना भाइरस वुहानमा देखिएको थियो। वुहानको एक समुन्द्री खाना तथा मासु पसलबाट सुरु भएर कोरोना भाइरस चीन हुँदै संसारभर फैलिएको बताइन्छ।
सुरुका कोरोना संक्रमित सोही मासुबजारसँग सम्बन्धित थिए।
हुबेईका स्वास्थ्य आयोगले शनिबार वुहानमा कुनै संक्रमण र यसबाट मृत्यु हुने मानिसको संख्या सार्वजनिक गरेको थिएन । ११ जना मानिस रोग ठिक भएको कारण घर फर्किएका थिए । अहिलेसम्म हुबेईमा ६८ हजार एक सय २८ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये ५० हजार तीन सय ३३ वुहानका छन् ।
भाइरसले महामारीको रुप लिन थालेपछि सो शहरलाई चीन सरकारले ७६ दिन लकडाउनमा राखेको थियो। चीनमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने शहर यही हो।
चिनियाँ सरकारले यसै महिनाको सुरुतीर सार्वजनिक गरेको कोरोनासम्बन्धी तथ्यांक अनुसार वुहानमा ५० हजार ३ सय ३३ जनालाई संक्रमण भएको र १२ सय ९० जनाको ज्यान गएको छ।
चीनभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ६९ रहेको चीनले जनाएको छ।