जानकी पोस्ट, ५ जेठ, काठमाडौँ : बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातले मंगलबारबाट नेपालको पूर्वी भूभाग प्रभावित हुने भएको छ ।
भारतीय मौसम विभागका अनुसार ” अम्पुन” नाम दिइएको उक्त चक्रवातका कारण अबको केही घन्टापछि आँधी र भारी वर्षा हुने सम्भावना छ। अहिले उक्त चक्रवात १३ किलोमिटर प्रतिघन्टाका दरले उत्तरतिर सरिरहेको छ। यो चक्रवात पश्चिम बंगाल र ओडिसा हुँदै उत्तरपूर्वतिर जाने जनाइएको छ।
चक्रवातका कारण मंगलबारबाट विस्तारै पानी पर्न सुरु हुने र यसको प्रभाव दुई–तीन दिनसम्म नेपालमा देखिने मौसम विज्ञान विभागको अनुमान छ । विभागले पूर्वसूचना जारी गर्दै भनेको छ, ‘उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २–३ दिनसम्म देशैभरि बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।’
चक्रवातका कारण आउने आँधी र भारी वर्षाबाट बच्न ती दुई राज्यमा उच्च सतर्कता अपनाइएको छ। यो चक्रवातको प्रभाव मे २१ सम्म रहनेछ।
चक्रवातले जमिनमा छोइसकेपछि काम गर्न छोड्छ । जबसम्म अम्पुनले जमिन छुँदैन, तबसम्म वर्षाको सम्भावना हुने मौसमविदहरु बताउँछन् । ‘अम्पुनले पनि ग्राउन्ड ल्याण्ड गरिसकेपछि विस्तारै प्रभाव हट्छ,’ मौसमविद मानन्धरले भनिन् ।
भारतमा यसले पुर्याउन सक्ने क्षति रोक्नका लागि पश्चिम बंगालमा ७ र ओडिसामा १० वटा विशेष टोली परिचालन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यसबारे छलफल गर्न गृहमन्त्रीसहितको विशेष बैठक आह्वान गरेका छन् ।
भारतीय मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर एम महापात्राले यस चक्रवातले २० मेमा भारतको तटीय क्षेत्रलाई छुने र भयंकर वर्षा हुने चेतावनी दिएका छन् । उनका अनुसार यो अम्पुन चक्रवातका कारण ओडिसा, पश्चिम बंगाल, आसाम र मेघालयमा हुरी बताससँगै भारी वर्षा हुने छ । भारतका अन्य स्थानमा भने यसको असर नपर्ने बताइएको छ ।