जानकी पोस्ट, २८ साउन , काठमाडौँ : पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणका क्रममा मृतक ८ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ।
पछिल्लो समय ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत् धादिङका ३२ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।
जनकपुरका एक ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ। धनुषाकै ३१ वर्षीया एक महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। सप्तरी घर भएका र राजविराज बस्दै आएका ७२ वर्षीय एक पुरुषको मृत्यु भएको छ।
मोरङका ५५ वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।
कपिलबस्तु तौलिहवाका ४२ वर्षीय पुरुषको बुटवल कोरोना अस्पतालमा मृत्यु भएको छ। बारा कलैयाका ७५ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ।