मिर्चैया आन्दोलन : ‘भ्रष्टाचारविरुद्ध बोल्दा मेयरले जनतालाई दुःख दिने काम गरे’

जानकी पोअत , २९ भाद्र , सिरहा। सिरहाको मिर्चैया नगरपालिकाविरुद्ध आन्दोलनमा रहेको सर्वदलीय संयुक्त संघर्ष समितिले आइतबार मिर्चैया–३ राघोपुरमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ ।

सर्वदलीय संयुक्त संघर्ष समितिले विवादित वडा–३ को समस्या समाधान गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागी विभिन्न पार्टीका नेताहरुले स्थानीयको गुनासो सुनेको छ ।

 

 

स्थानीयहरुको गुनासो र धारणा सुनेपछि मात्रै नेताहरुले मन्तव्य राखे । स्थानीयहरुले नगर प्रमुख श्रवण कुमार यादवको तानाशाह प्रवृत्तिका कारण आफूहरु अनावश्यक दुःख भोगिरहेको गुनासो पोखे ।

नगर प्रमुखको निर्देशनमा वडामा हुँदै आएको भ्रष्टाचार, अनियमितता, मनपरी र अपारदर्शीताको विरुद्धमा आवाज उठाउँदा आफूहरुलाई गुण्डा लगाएर सताउने काम भइरहेको स्थानीयहरुले गुनासो गरेका हुन् । जनप्रतिनिधिद्धारा हुने गरेका जनभावना विपरीतका कामको प्रतिकार गर्दा आक्रमण मात्र नभई अपहरणसम्म हुनु परेको स्थानीयहरुले दुखेसो पोखे ।

विकास निर्माणको काम यहाँका स्थानीयको सहभागिता र चाहना बमोजिम हुनुपर्नेमा त्यस विपरीत अवैध तरिकाले बाहिरका आफ्ना आसेपासे ठेकेदार लगाएर जवर्जस्ती काम गराउन खोजेपछि विरोध गर्दा घरमै गुण्डा पठाएर हुलहुज्जत गराउने गरेको उनीहरुको दुखेसो छ । नगर बाहिरबाट आएको बजेटको काम पनि हुन नदिएको स्थानीय ककुल्ती सदाले बताइन् ।

सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादवले गत वर्ष त्यस वडाको दलित बस्तीमा जस्तापाताका लागि १९ लाख रुपैयाँ बजेट संसदीय विकास कोषबाट दिएका थिए । तर, नगर प्रमुख र वडाध्यक्षले आजभोली गर्दागर्दै काम हुन नदिएको उनले सुनाइन् ।

 

नगरपालिकाबाट स्थानीयलाई आश्वासन दिइएपनि पछि उक्त बजेट रकम कोरोना कोषमा हालिदिएको भनेर काम नगरिदिएपछि स्थानीय खगेश्वर यादवको अगुवाइमा दलितहरुले वडा कार्यालयमा तालाबन्दी गरे ।

 

‘जस्तापाताको काम गर्न पटकौं आग्रह गरेपछि वडाध्यक्ष बार्गेनिङ गर्न आए, तर हामी कमिसनको कुरा नस्वीकार्दा मेयर र वडाध्यक्षले हामीलाई दुःख दिए,’ ककुल्तीले भनिन्, ‘हामीमाथि आक्रमण पनि भयो, तर पहरीले उनीहरुलाई केहि पनि गरेनन्,’ उनले थपिन्, ‘पानी आउँदा घरमा पनि हामी भिजेरै बस्न बाध्य छौं ।’ सरकारी अनुदान पनि जनप्रतिनिधिले आफ्नै आफन्त र आसेपासेलाई बाँड्दै आएको उनीहरुले सुनाए ।

 

वडा नम्बर ३ मा तत्कालिन माओवादी केन्द्रबाट हरिकुशियत यादव निर्वाचित छन् । त्यहाँ हुने गरेका विरोधका क्रियाकलापमा स्थानीय खगेश्वर यादव अग्रणी भूमिकामा हुन्छन् । उनी तत्कालिन राजपाबाट वडाध्यक्षको प्रत्यासीसमेत हुन् । हरिकुशियतसँग उनी केहि झिनो मतले मात्र पराजित भएका थिए ।

 

खगेश्वरले यो ठाउँ, समाज र आफूहरुको भलोको लागि बोल्दा मेयर र वडाध्यक्षले उनलाई ध्वस्त पार्न लागिपरेको स्थानीयहरुले सुनाए । प्रहरी प्रशासनले पनि जनप्रतिनिधिलाई नै साथ दिएको उनीहरुको गुनासो छ ।

 

राघोपुर बजारमा रहेको सामुदायिक विद्यायलको व्यवस्थापन समिति र विद्यालयमा नगरपालिकाद्धारा जर्वजस्ती तरिकाले भइरहेको कामको विषयमा विवाद भएपछि मेयरको तानाशाह प्रवृत्तिका कारण आफू यतिबेला भूमिगत भएर बस्न बाध्य भएको खगेश्वरले बताए ।

राघोपुरको विद्यालयमा केहि महिना अगाडि खगेश्वरलाई स्थानीयहरुले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुनेका थिए । तर, मेयर यादवले आफू अनुकुल मान्छेलाई व्यवस्थापन समिति बनाएर विद्यालयमा काम गराउँदैछन् । मेयर र वडाध्यक्षले विद्यालयमा अवैध तरिकाले काम गराउन लागेपछि खगेश्वरसहित त्यहाँका स्थानीयहरु काम रोक्न पुगे ।

 

तर, जनप्रतिनिधिले विवाद हुनेसक्ने सुइको पाएर त्यहाँ बाहिरका मान्छेहरु बोलाएर राखेका थिए । स्थानीहरुले अवैध तरिकाले काम हुन नदिने भन्दै प्रतिकार गर्न खोजेपछि जनप्रतिनिधि पक्षका मान्छेहरु एक्कासी उनीहरुमाथि जाइलागे । त्यसपछि त्यहाँ भएको झडपमा दुबै पक्षका दर्जन जति व्यक्ति घाइते पनि भए ।

 

सोही विवादपछि जनप्रतिनिधिको इशारामा प्रहरीले खोजिरहेको भन्दै आफू भूमिगत नै बसिरहेको खगेश्वरले बताए । ‘हामी पारदर्शीता चाहन्छौं, तर यहाँ भ्रष्टाचार गर्ने मनसायले मेयरले विवाद खडा गरे,’ खगेश्वरले भने, ‘गलतको विरोध गर्दा हामीमाथि आक्रमण पनि भयो, एक जना हाम्रो पक्षका युवा अपहरण पनि भए, अहिले प्रहरीले पनि हामीलाई नै खोज्दैछ, यो हद्दै अन्याय होइन, लोकतन्त्र हो कि तानाशाहतन्त्र यो ?’

 

राघोपुरमा लाग्दै आएको बजारको जग्गा पनि वडाध्यक्षकै सिफारिस र मिलेमतोमा निजिरकण भएको छ । यहाँ पदको दुरुपयोग गर्दै हुनेका गरेका गलत र अवैध कामको विरोध गर्दा त्यसकै निहुँमा आफूहरुलाई अनावश्यक दुःख दिने काम भइरहेको स्थानीयहरुको दुखेसो छ ।

 

स्थानीयहरुले आफूहरुमाथि अन्यायको सीमा नाघिरहेका भन्दै सरोकारबाला निकायसँग शान्ति सुरक्षाको लागि अपिल पनि गरे ।

 

स्थानीयहरुको गुनासो सुनेपछि कार्यक्रममा सहभागी नेकपाका प्रदेश २ का सह–इन्चार्जसमेत रहेका पूर्वमन्त्री महेन्द्र पासमानले आफ्नै पार्टीका जनप्रतिनिधिको कार्यशैली प्रति कडा आपत्ति जनाएका छन् । यहाँका जनतासँग अन्याय भएको उनको ठहर छ । स्थानीहरुको दुखेसो सुनेर आफूलाई अत्यन्तै भावुक तुल्याएको बताउँदै उनले जनप्रतिनिधिको क्रुरताप्रति आक्रोश जनाए ।

 

‘जनप्रतिनिधिले यो ठाउँलाई विकास गर्नुपर्ने थियो, सुरक्षित बनाउनुपर्ने थियो, अगाडी बढ्नुपर्ने थियो,’ नेता पासमानले भने, ‘तर यहाँ ठिक उल्टो भएको रहेछ ।’ आफ्नै पार्टीको जनप्रतिनिधि वा मान्छे भएपनि गलतलाई आफूले साथ नदिने भन्दै उनले जायज विषयमा आफू जनताको साथमा रहेको बताए ।

 

आफूले यी समस्या समाधानका लागि सम्बन्धित निकायलाई पटकपटक आग्रह गर्दा पनि चाँसो नलिइएकोप्रति उनले दुःखसमेत व्यक्त गरे ।

 

विपक्षी र आफविरुद्ध बोल्ने मान्छेको ठाउँमा कुनै काम नै नहोस् भन्ने सोंचले मेयर यादव ग्रस्त रहेको राप्रपाका केन्द्रीय सदस्य रामप्रताप साहले बताए । मेयर यादव आफू नगरपालिकामा शासक बनेर बस्न खोजेको उनको आरोप छ ।

 

‘मेयर भनेको नगरपालिकाको अभिभावक हो, उहाँ सबै निकायका मालिक हुन्,’ उनले भने, ‘तर मेयर हुँदाहुँदै पनि उहाँ जवर्जस्ती मोहन उमाविको अध्यक्ष बन्नुपर्यो किन, किनकी त्यो स्कूलको ५० लाख वार्षिक आम्दानी छ, विद्यालयको ३० बिघा जमिन छ ।’ जनता र विपक्षीलाई कमजोर नठान्नसमेत उनको चेतावनी छ ।

 

यस्तै, तत्कालिन राजपाका नगरध्यक्ष अंजय साहले नगरपालिकाको बजेट र सार्वजनिक सम्पत्तिलाई मेयर यादवले आफ्नो निजी जस्तो ठानेको आरोप लगाए । मेयरको मनपरी र एकलौटीपनले सीमा नाघेको भन्दै यसको जति भत्र्सना गरेपनि कम हुने उनको ठहर छ ।

 

मेयर र उनका वडाध्यक्षकै कारणले यहाँको अवस्था एकदमै जोखिमपूर्ण बनेपछि निषेधाज्ञाका बीच पनि आफूहरुलाई भेला हुन बाध्य हुनुपरेको उनले बताए । यहाँका जनताको समस्या समाधान गर्नका लागि यस लगत्तै आफूहरु सम्बन्धित निकायमा जाने र आवश्यक परे अझ भिषण आन्दोलन गर्न बाध्य हुने चेतावनी उनको छ ।

 

यसैगरी, नेपाली कांग्रेस निकट तरुण दलका क्षेत्रीय सभापति धनेश्वर यादवले मेयर यादवको जंगली प्रवृत्तिले जग हसाउने काम भइरहेको जिकिर गरेका छन् । उनले मेयर यादव आफूविरुद्ध बोल्नेलाई डराई धम्काई भ्रष्टाचारमा लिप्त भएर नगरलाई भ्रष्टाचारको अखाडा बनाएको आरोप लगाए । ‘चुनावअघि राम्रो लुगा लगाउन नसक्ने मान्छे मेयर भएपछि करोडपति कसरी भए,’ उनले प्रश्न तेर्साए, ‘कहाँ छन् अख्तियार ?’

 

नेकपाका जिल्ला सचिवालय सदस्यसमेत रहेका वडा ५ का प्रत्यासी जीवछ साहले मेयरको तानाशाह व्यवहारका कारण आफ्नै पार्टीका जनप्रतिनिधिविरुद्ध आन्दोलनमा आउन बाध्य हुनुपरेको बताए । नगरपालिकामा व्यापक अनियमितता र अपराधका काम भइरहेको भन्दै सम्बन्धित निकायले समयमै चाँसो लिनुपर्ने उनको धारणा छ ।

 

यस्तै, जसपाका युवा नेता रामेश्वर यादवले कोरोनाको बहानामा आएको बजेट रकमान्तर गरेर यहाँका गरिब दलितसँग अन्याय गरिएको भन्दै आक्रोश पोखे । ‘यहाँ काम गर्न नदिएर अन्याय भएको छ,’ उनले भने, ‘उहाँहरुको मनमा यतिसम्म पाप छ की, राजकिशोर जीको बजेटको काम भएपछि जनता उहाँकै भइहाल्ने हो की जस्ता सोंचले ग्रस्त छन् ।’

 

जनप्रतिनिधिको जिम्मेवार भूमिका देखिनुपर्नेमा त्यसो नहुँदा नगरपालिकामा भ्रष्टाचार, विकृति, र विसंगतिको जग बस्दै गएको उनले बताए । यस्ता कुत्सित मानसिकताका व्यक्तिका कारण अहिलेको सताब्दीमा पनि विकृत समाजमा जीउन परिरहेको भन्दै सबैले मिलेर लड्नुपर्ने उनले आवश्यकता औल्याए ।

 

मेयर यादवले नगरपालिकालाई गुण्डा फटाहा पालन केन्द्र बनाएको जनमत पार्टी निकट स्थानीय युवा रुकेश साहको आरोप छ । नगरपालिकामा हुने गरेका विकास निर्माणका काम आसेपासेसँग गराएर मेयर यादवले चरम भ्रष्टाचार गर्दै आएको दावी उनले गरे ।

 

विभिन्न पार्टीबाट प्रतिनिधित्व गर्दै राघोपुर पुगेका पार्टी प्रतिनिधिहरुले यहाँका जनतालाई चिन्ता नगर्न ढाँडस पनि दिए । सर्वदलीय संयुक्त संघर्ष समितिले यहाँको गुनासा र समस्या लिएर अब सम्बन्धित निकायमा जानेछ ।

 

मौखिक रुपमा सम्बन्धित निकायहरुमा जानकारी गराएर असोज २ गते समीक्षा बैठक बस्ने संघर्ष समितिले जनाएको छ । असोज २ को समीक्षा बैठकले आन्दोलनको आगामी प्रारुपसमेत तय गर्नेछ ।

 


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News