सिरहा । सिरहामा बलात्कारको घटनालाई गाउँस्तरमै ५ लाख रुपैयाँ लिएर मिलाउने पञ्चहरुलाई पक्राउ गरिएको छ ।
सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं. १ स्थित गत असोज १२ गते अन्दाजी ५ बजेको समयमा भएको बलात्कार प्रकरणमा गाउँका पँचहरुले ५ लाख रुपैयाँ जरिबाना तोकेर मिलाएको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले सँलग्न पँचहरुलाई पक्राउ गरेको छ ।
सोही स्थान बस्ने स्थानीय सिँघेश्वर साहको २० बर्षिय छोरा मुकेश कुमार साहले सोही ठाउँकी एक किशोरीलाई घरमा पसेर बलात्कार गरेको तथा सो घटनालाई गाउँस्तरमै पँचहरुले रकमको कबुलनामा गराएर मिलाएको भन्दै पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा सिराहा बिष्णुपुर गाउँपालिका वडा नं. १ बिष्णुपुर बस्ने मुनिलाल साहको छोरा बर्ष ५२ को सिंहेश्वर साह सोही ठाउँ बस्ने शत्रुधन साहको छोरा बर्ष २२ को अरविन्द कुमार साह, लक्ष्मी साहको छोरा बर्ष ४५ को शत्रुधनसाह , मुनिलाल साहको छोरा बर्ष ४७ को राज कुमार साह, नथुनी यादवको छोरा बर्ष ४२ को राम उदगार यादव, जनक यादवको छोरा बर्ष ६१ को जगविर यादव, हिरालाल यादवको छोरा बर्ष ४८ को राज कुमार यादव, अयोधी यादवको छोरा बर्ष ३५ को रौदि भन्ने श्याम सुन्दर यादव रहेका छन् ।
किशोरीलाई बलात्कार गरेको भन्दै रिस आवेगमा आएर किशोरीकी भाईले उनलाई नै कुटपिट गरी घाईते बनाएपछि घटना बाहिर आएको थियो । पीडित किशोरीलाई उपचारको लागि आफन्तहरुले पिडीतलाई स्थानिय क्लिनिकमा सामान्य उपचार गराई थप उपचारको लागी बिराटनगर स्थित बिराट नर्सिङ होम बिराटनगरमा लगी उपचार गराएको थियो ।
असोज १६ गते शुक्रबार गाउँ फर्कि आउँदा उक्त घटना गाउँ घरमै मिलाउन भनि गाँउमा नै पंचायत बसी पीडकको आफन्तसंग तमसुक कागज समेत गराई उक्त कागज जगविर यादवको जिम्मा राखिएको थियो । जगविर यादवको घर कोठा खानतलासी गर्दा उक्त घटना गाउँमै मिलाउन भनि गरेको धनि राम गुलाम यादव, ऋणि सिंहेश्वर साह र धनि लक्षुमण यादव ऋणि शत्रुधन साह भई ५ लाखको तमसुक कागज समेत कानुन बमोजिम बरामद भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न प्रतिवादी मुकेश कुमार साह तथा मतियारहरु सिंहेश्वर साह, अरविन्द कुमार साह, शत्रुधन साह,राज कुमार साह, राम उद्गार यादव, जगविर यादव, राजकुमार यादव र रौदि भन्ने श्याम सुन्दर यादव समेतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।