जानकी पोस्ट ,२४ असोज , सिरहा। चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा सिरहामा युवाहरु एकदिने अनशनमा बसेका छन् ।
डा. केसीको अनशनप्रति एक्यवद्धता जनाउँदै उनको जीवन रक्षाको लागि सरकारमाथि दवाव सृजना गराउने धेयले उनीहरू एकदिने अनशनमा बसेका हुन् ।
झण्डै १० जना बढीको समूहमा सिरहाको विभिन्न ठाउँका युवाहरुले गोलबजारस्थित गोलपार्क अगाडी भोकभोकै अनशनमा छन् । ‘मधेश विथ डा. केसी’को नारासहित विहान ६ बजेदेखि थालिएको अनशन बेलुकी ६ बजेसम्म चल्नेछ ।
डा. केसीका माग जायज भएपनि सरकार गैरजिम्मेवार र उदासीन देखिएको भन्दै दवाव सृजना होस् र मधेशबाट एक किसिमको सकारात्मक संदेश जाओस् भन्ने उद्देश्यले अनशन बसेको अनशनरत समूहका काशिन्द्र यादवको भनाइ छ । उनी तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) का सचिवालय सदस्य तथा राजनीतिक विश्लेषकसमेत हुन् ।
‘डा. केसीका माग जनहितका माग हुन्,’ उनले भने, ‘तसर्थ सरकारले यी मागहरु सम्बोधन गर्न ढिलाइ गर्न हुँदैन ।’ मुलुकमा मधेशलाई हेर्ने दृष्टिकोण फरक भएकाले पनि यस्ता कार्यक्रम गरेर सकारात्मक संदेश दिन चाहेको उनले बताए ।
सरकारले बेवास्ता गरे जनस्तरबाट थेग्न नसक्ने अवस्था सृजना हुनसक्ने अनशनमा बसेका आभाष सिंहले औल्याए । १९औं पटक अनशनरत डा. केसीको जीवन रक्षा हेतु र माग सम्बोधनका लागि सरकारलाई दवाव बनाउन मधेशका जिल्लासहित अन्य जिल्लाहरुमा समेत यस्ता रचनात्मक कार्यक्रम गर्न अनशनरत नागेश्वर रायको आग्रह छ ।
सरकारले डा. केसीसँग वार्ताका लागि अस्ति भर्खरै वार्ता टोली गठन गरेपनि वार्ताका लागि कुनै ठोस कदम चालिएको छैन । सरकारको उदासीनताले विगत २७ दिनदेखि निरन्तर अनशनमै रहेका डा. केसीको स्वास्थ्य अवस्था पछिल्लो समय नाजुक बन्दै गएको छ ।