जनकपुरको राजदेवीमा खोईच भराई र लडडु ७ दिनसम्म चढने, एक दिन मन्दिर बन्द रहने !

जानकी पोस्ट , २९ असोज ,जनकपुरधाम :जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवीमा प्रत्येक बर्ष सप्तमी तिथिको दिन मात्र हुने खोईच भराई र प्रसाद (लड्डु) चढाउने कार्यक्रम यसापली ७ दिनसम्म चल्ने भएको छ ।

प्रत्येक वर्ष १ दिन मात्र सप्तमी तिथिको दिन हुने खोईच भराई र प्रसाद चढाउने कार्यक्रम कोरोनालाई मध्यनजर गर्दै भीड कम गर्नको लागि घटस्थापनाको दिनदेखि नै सुरु हुने जनाइएको छ ।

 

 

राजदेवी पूजा आयोजना गर्ने स्थानीय महावीर युवा कमिटिका अध्यक्ष सँतोष साहले यसपाली स्थानीय प्रशासनको निर्देशनलाई पालना गर्दै मन्दिरमा भीड कम गर्नको लागि घटस्थापनाको दिनदेखि नै खोईच भराई र लडु चढाउने कार्य सुरु गर्ने बताए । उनले कार्तिक १ गतेदेखि कार्तिक ७ गतेसम्म दुवै कार्यक्रम जारी रहने बताए ।

प्रशासनको निर्देशन अनुसार यसपाली बोकाबली नहुने जनाउँदै उनले श्रद्धालुहरुसँग क्षमा मागेका छन् । उनले यसपाली मात्र रोकेर आउँदो वर्षसम्म प्रतिक्षा गर्न आग्रह समेत गरे ।  दशैंमा नवदुल्ही झैं सजाइने राजदेवीमा यसपाली पनि सजाबटमा कमि गरिएको छैन तर पूजा आरतीको विभिन्न कार्यक्रमहरु भने रद्द गरिएको छ ।

२० लाख बढीको लागतमा सजाइएको जनकपुरको राजदेवी मन्दिर र सो क्षेत्र अहिले झिलिमिली भएको छ । यसपाली विभिन्न कार्यक्रमहरुलाई रद्द गरिएको अध्यक्ष साहले न् भने ।

साहका अनुसार, प्रत्येक वर्ष साँझ ७ बजेदेखि राती १ बजेसम्म हुँदै आएको भजन सँध्या, भव्य आरती रद्द गरिएको छ भने रावण बध पनि अलमलमै रहेको बताए । उनले भजन सँध्यामा श्रद्धालुको भीड हुने गरेको तथा भव्य आरती जो की महिलाहरुको लागि मात्र विशेष हुन्छ, त्यो पनि रद्द गरिएको छ ।

 

“भीडले कोरोना सर्ने खतरा उतिकै हुन्छ, भीड कम गर्नको लागि यसपाली ७ दिनसम्म खोईच भराई कार्यक्रम र लड्डु चढाउने कार्यक्रम हुन्छ । खोईच र लड्डुको लागि मात्र जनकपुरको रेल्वे स्टेशनसम्म लाईन लागेको हुन्छ । त्यही भएर यसपाली ७ दिनसम्म चढेपछि भीड कम हुन्छ ।”– उनले भने ।

 

बली प्रदान कार्यक्रमसम्म राजदेवी दर्शनको लागि एक सातामै ३ लाख भन्दा बढी श्रद्धालुहरुको आगमन हुने भएकोले मनोरञ्जनात्मक कार्यक्रमहरु पनि बन्द गरिएको बताए । उनले राजदेवी पूजन र अन्य कुनै विधिमा भने कुनै कमी नहुने जनाए ।

 

उनले राजदेवीको भव्य श्रृँगार, बेलनौती, बेलतोरी, शक्ती पूजन लगायतका कार्यक्रमहरु भने अनिवार्य हुने बताए । कोरोनाले गर्दा यसपाली प्रथम पटक राजदेवीको मन्दिर अष्टमीकै तिथि बन्द गर्न लागिएको जनाइएको छ ।