जानकी पोस्ट ,२० कार्तिक , सिरहा :बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाएर निर्घात कुट्ने एक अभियुक्तलाई अदालतले धरौटीमा रिहा गरेको छ । नवराजपुर गाउँपालिका–५ कुर्सन्डीकी ४५ वर्षीया मूर्तिदेवी यादवलाई मरनासन्न हुने गरी कुट्ने अभियुक्त सन्तोषकुमार यादव अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत सिराहाको ५ नम्बर इजलासका न्यायाधीश रोमनाथ अधिकारीको एकल इजलासले उनलाई धरौटी लिई तारेखमा छाड्न आदेश दिएको हो । अदालतको आदेशलगत्तै धरौटी बुझाएर यादव रिहा भएका छन् । अधिकारीले आदेशमा प्राप्त प्रमाणका आधारमा प्रतिवादी यादव अभियोग दाबीको कसुरमा निर्दोष नदेखिएको ठहर गरेका छन् । तर, पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी जमानत लिई मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका छन् । आदेशपछि पीडित परिवारले अदालतबाट प्रारम्भिक चरणमै न्याय नपाएको महसुस गरेको छ । पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने अभियुक्तलाई तारेखमा रिहा गर्ने आदेशले पीडित परिवारलाई असुरक्षाको भयसमेत उत्पन्न गरेको छ ।
अदालतको आदेशमा भनिएको छ, ‘उल्लिखित मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी सन्तोषकुमार यादव अभियोग दाबीको कसुरमा निर्दोष रहेछन् भन्न सक्ने अवस्था नदेखिएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल निज प्रतिवादीसँग मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ (१) र ७२ बमोजिम रु. २ लाख नगद धरौटी, जमान वा बैंक जमानत लिई मुद्दाको पुर्पक्ष गर्न आदेश गरिदिएको छ ।’
जिल्ला अदालत सिराहाका स्रेस्तेदार जगवीर भट्टराईले भने, ‘घटनामा संलग्न कागजातबाट सन्तोषको भूमिकाबारे स्पष्ट खुलेको छैन । यसैले धरौटीमा रिहा गरिएको हो ।’
पीडित परिवार भन्छ– न्यायको आशा हरायो
अदालतको आदेशपछि पीडित मूर्तिदेवीका छोरा गणेश यादवले न्याय पाइने आशा हराएको प्रतिक्रिया दिए । ‘हाम्रो मनोबल घट्यो । न्यायालयमाथि विश्वास हरायो,’ नयाँ पत्रिकासँग उनले भने, ‘पक्राउ परेकालाई अदालतले रिहा गरेपछि फरार रहेका दोषीहरूमाथि कारबाही होला भनेर विश्वास गर्ने आधार नै हरायो ।’ मलमूत्र खुवाएर मरनासन्न गरी कुटपिट गरिएको घटनाका सात अन्य आरोपी अझै फरार छन् । उनीहरूको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक उमा शंकर पञ्जियारले बताए ।
अझै बोल्दिनन् मूर्तिदेवी
मलमूत्र खुवाएर मरनासन्न गरी कुटपिट गरिएका मूर्तिदेवी अहिले पनि राम्ररी बोल्न र खान सक्ने अवस्थामा छैनन् । अहिले पनि उनलाई उपचारको आवश्यकता रहेको छोरा गणेशले जानकारी दिए । ‘आमालाई उपचार गराउन फेरि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजान लागेको छु,’ उनले भने । कुटपिटबाट घाइते भएकी उनलाई पहिले पनि उपचार गराइएको थियो । तर, घर फर्किएपछि उनी मूर्तिजस्तै टोलाइ मात्र रहन्थिन् । अहिले पनि उनी त्यसैगरी टोलाइरहने परिवारका सदस्यको भनाइ छ ।
प्रहरी भन्छ– सबै प्रमाण जुटाएका छौँ
प्रहरी स्रोतका अनुसार अभियुक्तलाई सम्पूर्ण प्रमाणसहित अधिकतम सजायको माग गरिएको थियो । पक्राउ परेका सन्तोषको साबिती बयान, पीडितको जाहेरी र बयान, स्थानीयको मुचुल्का, घाउ जाँच गरिएको प्रमाण र प्रहरी प्रतिवेदनमा पनि घटनामा सन्तोषलगायत आठजनाको संलग्नताको प्रमाण पेस गरिएको प्रहरी स्रोतले जनाएको छ । यस्तो जघन्य अपराधमा अदालतबाट आएको आदेशले प्रहरी अधिकारीसमेत आश्चर्यमा परेका छन् । अन्य आरोपी फरार रहेको अवस्थामा पक्राउ परेकालाई पनि तारेखमा छाडिदिँदा पीडित परिवारलाई धम्क्याउने र बयान फेर्न दबाब दिने अवस्था उत्पन्न हुन सक्ने जनप्रतिनिधिहरूको आशंका छ ।
पुनरावेदनमा जाने तयारी
जिल्ला सरकारी वकिल कार्यालय सिराहाले सजायको मागदाबीमा कुनै कमजोरी नभएको जनाएको छ । जिल्ला न्यायाधिवक्ता एकराज अधिकारीले यस्तो प्रकृतिको घटनामा आफूहरूबाट कुनै कमजोरी नभएको दाबी गरेको छ । ‘हामीले बोक्सी आरोप र अंगभंग गरी दुवैमा सजायको मागदाबी गरेका छौँ,’ न्यायाधिवक्ता अधिकारीले भने, ‘अदालतको आदेश आएको छ । हामी पुनरावेदनमा जाने तयारीमा छौँ ।’
बोक्सी आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा ११ (१) (ङ) बमोजिम पाँचदेखि आठ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनुका साथै सोही ऐनको दफा ११ (च) बमोजिम कसुरमा प्रचलित कानुनबमोजिम हुने सजायमा थप दश प्रतिशत सजायको मागदाबी जिल्ला सहन्यायाधिवक्ता देवराज कोइरालाले मिसिल पेस गरेका थिए ।
यस्तो थियो घटना
धर्मनाथ यादवको छोरी रञ्जना यादव बिरामी भएपछि सीमावर्ती भारतको तोरियाही गाउँबाट धाँमी बोलाएर हेर्न लगाएका थिए । धामीले रामनारायण यादवकी पत्नी मूर्तिदेवी बोक्सी भएको र उनैले टुनामुना गरेपछि बिरामी परेको बताएका थिए । त्यसपछि धर्मनाथ यादव, उनका छोरा सन्तोष यादवलगायतले मूर्तिदेवीलाई घरमै पुगेर कुटपिट गरी र लछारपछार गर्दै राममन्दिरको पञ्चायतमा ल्याएका थिए । पञ्चायतकै क्रममा मलमूत्र खुवाएर फेरि कुटपिट गरिएको थियो । कुटपिटबाट मूर्तिदेवीको मुखको बायाँपट्टी बंगारामा गम्भीर चोट लागेको थियो । उद्धारपछि शल्यक्रिया गरिएको छ ।