जानकी पोस्ट , २३ कार्तिक , सिरहा : दीपावली र छठ नजिकिएसँगै सिराहामा माटो र बाँसका विभिन्न सामग्रीको बिक्री बढेको छ ।
नेपालीको दोस्रो ठूलो पर्व दीपावलीमा माटोको दियो, डिबियासँगै गाग्री (घैला)को प्रयोग गरिन्छ । त्यसैगरी छठमा विशेषगरी गाग्री, दियो, ढकना, हात्तीजस्ता माटोले बनेका सामग्रीको प्रयोग हुँदै आएको छ । सिराहामा माटो र बाँसले बनाएका सामग्रीको हाटबजारमा बिक्री बढेको व्यवसायीहरू बताउँछन् ।
बाँसले बुनेका ढकिया, सुपा, कोनिया, डगरीजस्ता सामग्रीले छठ पर्वमा उपयोग हुँदै आएकोले बिक्री बढेको सिराहा नगरपालिका– १ का व्यवसायी सुरेश मल्लिकले बताए । सिराहा नगरपालिका– ११ भलुवाहीमा माटोका सामग्री बनाउँदै आएका प्रदीप पण्डितले अरू वर्षजस्तै यस वर्ष पनि माटोका सामग्री बनाउन भ्याइनभ्याई भएको बताए ।
‘कोरोनाले ठप्प भएको व्यापार दीपावली र छठमा माटोको सामग्रीको व्यापारले तंग्रिएको छ,’ पण्डितले भने, ‘गत वर्षभन्दा महँगोमा माटोका सामग्री बेच्दै आएको छु ।’ छठ पर्वमा चाहिने माटोका सामग्री (घैला, ढकना, हात्ती, दियो) तीन सयदेखि तीन सय ५० रुपैयाँमा बेच्दै आएको पण्डितले बताए ।
यता बाँसका ढकिया तीन सय ५०, सुपा दुई सय, डगरी–कोनिया एक सय ५० रुपैयाँ बेच्दै आएको सिराहा नगरपालिका १९ का प्रमोद मल्लिकले बताए । जिल्लाको मुख्य बजार क्षेत्र सदरमुकाम सिराहा, मिर्चैया, लहान, गोलबजार र ग्रामीण बजारहरू कल्याणपुर, सुखीपुर, कर्जन्हा, बरियारपट्ट, भगवानपुरलगायतका बजार क्षेत्रमा माटो र बाँसका सामग्रीको बिक्री बढेको स्थानीय व्यवसायीहरू बताउँछन् ।
माटोका सामग्री विशेषगरी कुमाल समुदाय र बाँसका सामग्री डोम समुदायले तयार पारेर दीपावली र छठमा बेच्दै आएका छन् ।