दिदीको स्नेह र भाइको पराक्रमको प्रतीक सामा-चकेवा

दिदीको स्नेह र भाइको पराक्रम नै यो संसारको एउटा सुन्दर पक्ष हो । यही स्नेहले नै कसैले तिहारको भाइटीका मनाउँछन्, कसैले किजा पूजा मनाउँछन् त कसैले सामा चखेवा । दिदीको स्नेह र भाइको पराक्रमको शिलशिला मानव सभ्यतासँगै सुरु भएको हुनुपर्छ । तर हामीले यसलाई करिब १५०० वर्ष पहिलेसम्मको परम्परा मान्न सक्छौं ।

पुरानो मौखिक परम्पराले डोहो¥याउँदै आएको मिथिला क्षेत्रको महत्वपूर्ण पर्व सामा चखेवा पनि दिदीभाइबीचको माया प्रेम र स्नेहको प्रतीक हो । कात्तिक शुक्ल पञ्चमीका दिन बोलीचालीमा ‘सामा’ भनिने सामा–चकेवा पर्वको मिथिला क्षेत्रले सुरुवात गर्छ । यही पर्वले नै एउटा समाजमा बस्ने हरेक पक्षको प्रतिनिधित्व गरेको हुन्छ ।

यो पुराणोक्त एउटा संस्कृति हो । यो पर्वको बारेमा पद्म पुराण, स्कन्ध पुराण लगायतले उल्लेख गरेको छ । जसमा उल्लेख गरिएको विषय अनुसार सामा र चखेवा(चारुवक्य) पतिपत्नी हुन् । उनीहरू नै यो गीति नाटक वा परम्पराका मुख्य पात्रहरू हुन् ।

स्कन्ध पुराणका अनुसार चारुवक्य आश्रममा बस्ने गर्थे । श्यामा(सामा) भगवान कृष्णकी छोरी हुन् । यही कथामा चुगलाको पनि भूमिका देखिन्छ । चुगला एक कुरौटे पात्र हुन् । आश्रममा बस्ने चखेवालाई भेट्न गएकी सामाको कुनै ऋषिसँग प्रेम चक्कर रहेको कुरा चुगलाले श्रीकृष्णलाई सुनाउन पुग्छन् । श्रीकृष्णले पनि सत्य कुरा नै नबुझी सामालाई चरा बन्ने श्राप दिन्छन् । सो कुरा सामाका भाइ शम्बले थाहा पाउँछन् । आफ्नी दिदीलाई पूर्ववत् अवस्थामा फर्काउनको लागि आफ्ना बाबुसँग उनी अनुनय विनय गर्छन् । जतिगर्दा पनि दिदीलाई पूर्ववत् अवस्थामा फर्काउन नसकेपछि उनी अन्ततः तपस्या गर्न सुरु गर्छन् ।

अर्काेतर्फ आफ्नी पत्नी सामा चरा भएको वियोगमा चखेवाले पनि चराकै स्वरुप धारण गरेर सामासँगै बस्न थाले । पछि कात्तिक पूर्णिमाको दिन शम्बको तपस्याबाट सन्तुष्ट भएर सामा र चखेवालाई नै पूर्ववत् स्वरुपमा फर्काएको भन्ने पौराणिक कथा छ ।

त्यसैले यो पर्व भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अदभूत भ्रातृत्व प्रेमको चित्रणमा केन्द्रित छ । कुरौटे समाजको पनि यसमा चित्रण गरिएको छ । यो गीति संवादकोे माध्यमबाट अभिव्यक्त गर्ने गीति नाटक हो ।

परम्पराअनुसार मिथिलाका ललना (छोरीचेली, दिदीबहिनी) ले आज सामा खेल सुरु गर्ने गर्छन् । कात्तिक शुक्ल पञ्चमीदेखिको एघारौं दिन कात्तिक पूर्णिमामा सामा–चकेवाको विसर्जन गरी समापन गर्ने धार्मिक मान्यता छ ।

१० दिनसम्म चल्ने यही सामा चखेवा पर्व मिथिला क्षेत्रमा बिहीबारदेखि सुरु भएको हो । यस पर्वको पहिलो दिन मिथिलाञ्चलमा समूहमा गीत गाउँदै दिदीबहिनीहरू माटो खन्न जान्छन् । यस्तो माटो दाजुभाइबाट नै खनाउनु पर्छ भन्ने मान्यता हुन्छ । त्यही माटोबाट सामा चखेवा लगायत विभिन्न आकृति बनाउने गर्छन् ।

यही माटोको प्रतिमालाई बाँसको डालोमा राखेर टोलटोल र चोकमा लगेर गीत गाउने चलन छ । कात्तिक पूर्णिमाको दिन सोही प्रतिमालाई विसर्जन गरेपछि यो पर्वको औपचारिक विसर्जन हुने गर्छ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News