जनकपुरको चन्द्रकला हस्पिटलको कालो धन्धा : नेपालमै सबभन्दा चर्को शुल्क लिएर बिरामीलाई लुट्दै

 

जानकी पोस्ट , १ मंसिर, जनकपुरधाम :  जनकपुरस्थित चन्द्रकला हस्पिटल एण्ड रिसर्च सेन्टरले बिरामीलाई त्रास देखाउँदै मनपर्दी रकम अशुली गरेको पाइएको छ ।

मापदण्ड विपरित निजी विद्यालयकालािग निर्मित भवनमा जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जिरोमाईलमा संचालित यो अस्पतालले काठमाडौँ सहित देशकै नाम चलेका हस्पिटलभन्दा समेत करिब दोब्बर रकम अशुलीरहेको पाइएको हो ।

नेकपा नेता रघुवीर महासेठका नातामा भतिज पर्ने डा.महेश महासेठद्वारा सञ्चालित यो अस्पतालमा न बडापत्र छ, न कुनै सेवा सुविधाको मूल्यसूची छ । भान्जीलाई उपचारकालागि आएका बटेश्वर गाउँपालिका–१ का प्रदिप महतोलाई अस्पताल प्रशासनका कर्मचारीले आईसियू चार्ज बताएपछि उनी अच्चमित भए ।

मापदण विपरित संचालित यो अस्पताल परिसरमै फोहोर, निर्माण समाग्री, भद्रागोल व्यवस्थापन र वातावरण हेर्दा उनी मात्र होइन डाक्टर पनि चकित हुन्छन् ।

स्वास्थ्यकर्मी समेत रहेका महतोलाई अस्पताल प्रशासनका कर्मचारी रोशन यादवले कपीको पाना च्यातेर भेन्टिलेटरबाहेक बेड, डाक्टर राउण्ड, मेडिकेसन, मोनिटाइजेसन, इन्फ्युजन पम्प र अक्सिजनसहित आईसीयू चार्ज दिनको १८ हजार पर्ने बताएका थिए ।

अक्सिजन समेत जरुरत नभएकी गणितालाई उपचारमा संलग्न डाक्टरले कम्तीमा पाँच दिन आईसियू भर्ना हुनुपर्ने बताएपछि उनका आफन्त झन चिन्तित भएँ । ‘अवस्था एकदमै गम्भीर छ । बाँच्ने कि मर्ने अहिले केही भन्न सकिन्न । कम्तीमा पाँच दिन आईसीयूमा राख्नुपर्ने भनेपछि हाम्रो ढुकढुकी बढ्यो । टेन्सनले म पनि खसेजस्तो भएँ,’ उनका श्रीमान् देवनारायण महतोले भने ।
‘बिरामीलाई भेन्टिलेटरमा राख्नै परेको छैन । अक्सिजन लगाउनै परेको छैन् । न यहाँ अस्पतालजस्तो वातावरण छ, न भवन छ । केयर र सेवासुविधा पनि खासै छैन । अस्पताल गन्हाएको छ,’ उनले भने, ‘काठमाडौंको नाम चलेका महँगो हस्पिटलमा पनि यति महँगो आईसीयू कतै हुँदैन ।

नबुझीकनै एम्बुलेन्स ड्राइभरले यो अस्पताल ल्याइदिए । यहाँ त लुट्दो रहेछ । नबुझ्ने मानिस भएको भए पैसा असुल्न पाँच दिनै आईसीयूमा राखदिन्थे ।’ गणितालाई तीन दिनपछि आईसीयूबाट इमर्जेन्सी वार्डमा सिफ्ट गरियो ।

त्यहाँ उनकी आमा निर्मलाले डाक्टरलाई गणिताको स्वास्थ्य स्थितिबारे बारम्बार सोधिरहिन् । तर डाक्टरले एउटै जवाफ फर्काउँथे, ‘अहिले केही भन्न सकिन्न । प्वाइजनिङ केसमा तुरन्तै जे पनि हुन सक्छ । पाँच दिन राख्नुस्, अनि भन्छौँ ।’

डाक्टर तथा स्वास्थ्यकर्मीको डरलाग्दो जवाफ सुनेर गणिताकी आमा, श्रीमान्‌लगायतका पारिवारिक सदस्य तथा आफन्तको आँखाबाट आँसुका धारा बगिरहे । तर उपचारमै संलग्न एक स्वास्थ्यकर्मीका अनुसार डाक्टरले भनेजस्तो गणिताको डरलाग्दो स्थिति भने थिएन ।
तर, त्रास देखाउँदै अस्पतालले उनलाई ११ दिनपछि २१ कात्तिकमा डिस्चार्ज गर्‍यो । अस्पतालले गणिताका आफन्तलाई १ लाख १८ हजार ९ सय रुपैयाँको उपचार खर्च र ४५ हजारभन्दा बढीको औषधिबापतको बिल थमाए ।

उनी गरिब परिवारकी भएकाले अस्पतालमा केही छुट गराइदिन भन्दै उनका आफन्तहरूले चिनजानका स्थानीय नेता तथा समाजका अगुवालाई गुहार लगाउँदा अस्पतालले १४ हजार ९ सय रुपैयाँ छुट दिएपछि ऋण काढेर गणिताका श्रीमान् देवनरायणले अस्पताललाई पैसा तिरे ।

अस्पतालमा नागरिक वडापत्र र मूल्यसूची किन नराखिएको प्रश्नमा प्रशासनका कर्मचारी रोशनले भने– ‘‘हामीले मूल्य दर प्रिन्ट गर्ने र बडापत्र बनाउने अर्डर दिएका छौँ तर बन्न सकेको छैन । मलाई यहाँ आएको अढाई महिना मात्र भएको छ । मूल्यसूची किन राखिएको छैन मलाई थाहा भएन् ।’

कमजोर पर्खालमै अस्तब्यस्त व्यवस्थापनका बीच ठ्डयाइएको अस्पतालको आईसीयू कक्षको शुल्कसँगै इमर्जेन्सी सेवा शुल्क जति नेपालमा कहीँ कतै कुनै अस्पतालले नलिएको पाइएको छ ।

अस्पतालले भेन्टिलेटर र अक्सिजन नै नराखिएको आईसीयू कक्षको शुल्क प्रतिदिन ७ हजार रुपैयाँका दरले असुल्ने गरेको छ । त्यसमा मोनिटरिङ चार्ज दिनको ३ हजार र इन्फ्युजन चार्जसमेत दिनको ३ हजारका दरले लिएको पाइएको छ ।

गणिताको उपचारमा अस्पतालले आईसीयूमा बसेको तीन दिनसहित १० दिनको इन्फ्युजन चार्ज र मोनिटरिङ चार्ज ३०र३० हजार गरी ६० हजार जोडेर बिल थमाएर पैसा लिएको पाइएको छ । आईसीयूमा तीन दिनको डाक्टर राउण्ड चार्ज मात्र ९ हजार रुपैयाँ लिइएको छ । तर निजी अस्पताल एसोसिएसनका पदाधिकारी भने बिरामीलाई लुटेर अन्याय गरेको बताउँछन् ।

‘भेन्टिलेटरबाहेक एक्स्ट्रा चार्ज नलिने हो भने आईसीयूको बेडचार्ज देशैभरका ठूला अस्पतालमा ५ हजार रुपैयाँभन्दा बढी कतै पनि छैन्,’ नाम नबताउने सर्तमा ती डाक्टरले भने, ‘ग्राण्डीजस्ता ठूला अस्पतालले पनि साढे ७ हजार रुपैयाँ बेड चार्ज मात्र लिन्छन् । इन्फ्युजन र मोनिटरिङ चार्ज त्यसैभित्र पर्छ ।’

इन्फ्युजन पम्प र मोनिटरिङ चार्जको नाममा बिरामीलाई अस्पतालले ठगी मात्र गरेको छैन, सम्पूर्ण निजी अस्पतालकै नाम बदनाम गरिएको ती डाक्टरको भनाइ छ ।

यस्तै, आईसीयूमा देशकै सबैभन्दा महँगो अस्पतालमा समेत डाक्टरले राउण्ड चार्ज २ हजार रुपैयाँभन्दा कतै नलिने गरेको उनी बताउँछन् । तर चन्द्रकला हस्पिटलले भने डाक्टर राउण्ड चार्ज ३ हजार रुपैयाँ प्रतिदिनका दरले असुली गरेको पाइएको छ ।

यस्तै, मेडिकेसन चार्जको नाममा समेत आईसीयूमा यो अस्पतालले दिनको १ हजार रुपैयाँ असुली गरिरहेको छ । जबकि नयाँ निर्देशिकाअनुसार यो शुःल्क लिनै नमिल्ने चिकित्सकहरू बताउँछन् ।
तर, अस्पतालले चर्को शुल्क असुलेर बिरामीमाथि आईसीयू कक्षमा मात्र अन्याय गरेको छैन ।

यो अस्पतालको इमर्जेन्सी कक्षमा समेत उपचारमा चर्को शुल्क असुलेको पाइएको छ । डाक्टरका अनुसार इमर्जेन्सी वार्डमा देशैभरका ठूला अस्पतालले समेत इन्फ्युजन चार्ज ५ सयदेखि १ हजार, मोनिटर चार्ज प्रतिघण्टा डेढ सयदेखि अढाई सय वा दिनको २ हजार रुपैयाँसम्म लिने गरेका छन् ।

तर, चन्द्रकला हस्पिटलले इमर्जेन्सी वार्डमा समेत इन्फ्युजन पम्प चार्ज दिनको ३ हजार र मोनिटर चार्ज पनि दिनको ३ हजारका दरले असुलेको पाइएको छ ।

तर यता अस्पताल सञ्चालक डा। महासेठले भने अन्य अस्पतालको तुलनामा शुल्क कमै लिएको दाबी गरे । ‘तपाईं कुनै हस्पिटलमा गएर बुझ्नुस् अनि भन्नुस्, कहाँ बढी शुल्क लिइएको छ । इन्फ्युजन पम्प र मोनिटरिङ चार्ज अरू अस्पतालले पनि लिएकै छन्,’ उनले भने ।

अस्पतालले चर्को शुल्क लिनुमा अस्पताल मात्र जिम्मेवार नभएको प्राइभेट हस्पिटल एसोसिएसनका जनकपुर अध्यक्ष डा। एसके सिंहले बताए । ‘यदि तपाईंलाई थाहा छ कि त्यहाँ चर्को शुल्क लिइन्छ । सेवा राम्रो छैन भने समाजका व्यक्ति किन त्यस्ता अस्पतालमा जान्छन् रु नजाने हो भने अस्पतालले आफैँ सेवा सुविधा र शुल्कमा सुधार गर्नेछ,’ उनले भने ।

एम्बुलेन्सचालक र स्वास्थ्यकर्मीको आवरणमा रहेका विचौलियालाई अस्पतालले कमिसन दिने गरेका कारणले समेत सेवासुविधा कम दिने अस्पतालले चर्को शुल्क असुलेको उनको भनाइ छ । ‘कमिसनतन्त्र यहाँ मात्र छैन, देशका हरेक ठाउँमा छन् । यसको नियन्त्रणका लागि एसोसिएसनका पदाधिकारीबीच छलफल पनि भएको छ । जहाँसम्म शुल्क बढी लिने कुरा छ, त्यसमा हामीले एकरुपता ल्याउनेगरी छठपछि पहल थाल्नेछौँ,’ डा।सिंहले थपे ।

विचौलियाले कमिसनको आडमा गाउँगाउँबाट ल्याउने बिरामीले यस्ता अस्पताल भरिभराउ देखिने गरेको एसोसिएसनका पदाधिकारी तथा चिकित्सक बताउँछन् । मापदण्डविपरीत सञ्चालित अस्पतालले कम सेवा सुविधा र चर्को शुल्क लिइरहँदा अस्पतालको अनुगम नै भएको छैन ।

सरकारले स्वास्थ्यसम्बन्धी नयाँ निर्देशिका जारी नगरेकाले अनुगमन नभएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता विजय झाले बताए । ‘अनुगमन हुनुपर्थ्यो, तर नयाँ निर्देशिका जारी नभएकाले प्राइभेट अस्पतालको दर्ता र नवीकरण अहिले रोकिएको छ । त्यसैले अनुगमन भइरहेको छैन्,’ उनले भने ।