सिरहामा छुट्टाछुटै सडक दुर्घटनामा दुई युवकको ज्यान गयो

सिरहा,पुस १० गते । सिरहाका छुट्टाछुटै दुई स्थानमा भएको सडक दुर्घटनामा दुई युवकको ज्यान गएको छ । बस र ट्याक्टरले छुट्टाछुट्टै स्थानमा मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको ज्यान गएको हो ।

लहान नगरपालिका–१ पडरियास्थितमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १६७५ नम्बरको भाग्यरेखा ट्राभल्सको बसले सोही दिशामा जाँदै गरेको स१०प ९८४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– ४ निवासी ३२ वर्षीय हिराबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते राईको लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी सिरहाको नरहा गाउँपालिका– ३ स्थित सडकमा उखु लोड गरेको ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ३० वर्षीय मो नइम खाँको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रहरी निरीक्षक दानबहादुर म्रिङचिङले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ त ०७६८ नम्बरको ट्र्याक्टरले पूर्वबाट पश्चिम जाँदै गरेको ज११प २१७८ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते खाँ लाई उपचारका लागि मिर्चैयास्थित मङ्गलम हेल्थ केयर सेन्टर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुबै घटनाको विषयमा थप अनुुसन्धान भइरहेको जनाएको छ ।