जानकी पोस्ट , सर्लाही : तराई मधेश सहित देशको विभिन्न ठाउँमा एक रोगझै फैलिएको दाईजो प्रथालाई चुनौति दिँदै प्रदेश नम्बर २ को सर्लाहीमा आदर्श विवाहको नमुना पेश गरिएको छ ।
बेहुला सरकारी जागिरे भएपछि झन लाखौं लाखमा दाईजो लिने प्रथालाई एक सरकारी जागिरे अधिकृतले त्यसलाई चुनौति दिँदै गाउँमा आदर्श विवाह गरेर प्रशँसा बटुलेका छन् ।
गत मँसिर २२ गते सोमवारका दिन सर्लाहीको गौडेता नगरपालिका वडा नम्बर ३ तथा हाल मलँगवा नगरपालिका वडा नं. १० बस्ने पुजा कुशवाहा एवम् अशोक मेहता आदर्श विवाह गरी दाईजो प्रथालाई चुनौति दिएको हो ।
इन्द्रा कुशवाहा एवं राजिनन्द महतोकी दोस्रो सन्तानको रूपमा जन्मिएकी पुजा कुशवाहा र सुनसरी देवानगंज गाउँपालिका वार्ड नं २ देवानगंज निवासी विन्दा देवी मेहता एवं हरिलाल मेहताको चौथो सन्तानको रूपमा जन्मेका अशोक मेहता आदर्श विवाह गरी वैवाहिक बन्धनमा बाँधिएको हो ।
वर्तमान समाजमा विपन्न देखि हुनेखाने परिवारिक पृष्ठभूमि बोकेका युवाले विवाहमा दहेज प्रथालाई प्रोत्साहन गरिरहेको र अझै सरकारी जागिरे बेहुलाको दहेज मागले समाज अक्रान्त बनिरहेको बेला निजामती सेवा राजपत्रांकित तृतीय श्रेणी इनरवा नगरपालिकाका लेखा अधिकृत पदमा कार्यरत अशोक मेहताले आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश छरेका छन् ।
“यो आदर्श विवाहसँगै मेरो परिवारमा आदर्श विवाह गर्नेको संख्या चार पुगेको छ । तराई मधेशमा छोरी चेलीलाई हेर्ने दृष्टिकोण परिवर्तनको लागि दहेज प्रथालाई न्यूनीकरण गर्ने परम उद्देश्यले हामी आफैबाट आदर्श विवाहको शुभारम्भ गरेका छौ र यसलाई निकट भविष्यमा निरन्तरता दिलाउने संकल्प गरेको छु ।”– न्यूज ब्यूरोका सर्लाही सँवाददाता एवम् पत्रकार राधेश्याम कुशवाहाले भने ।
प्रत्येक युवाले तराई मधेश परिवर्तनको लागि सकारात्मक एवं रचनात्मक भूमिका खेलिनु अपरिहार्य रहेको महसुस गरेको बताउँदै पत्रकार कुशवाहाले सम्पूर्ण समाजको सहयोगले वर्तमान समाजमा रहेको विधमान कुरिती, कुसंस्कृती, अन्धविश्वास र असमानता न्यूनीकरण भई जाने विश्वास लिइएको थपे ।