प्रदेश २ : दाइजोका लागि श्रीमती कुट्ने श्रीमान् र ससुरा पक्राउ


जनकपुरधाम : सर्लाहीमा दाइजो नदिएको भन्दै कुटपिट गर्ने श्रीमान् र ससुरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिपुर्वा नगरपालिका–२ का श्रीमान् जोगनारायण साह र ससुरा अनुपा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

वैशाख १३ गते महोत्तरीको सम्सी गाउँपालिका–६ की २१ वर्षीया अमृता साहको जातीय परम्पराअनुसार जोगनारायणसँग विवाह भएको थियो । तर, विवाहको केही समय नबित्दै अमृतालाई दाइजो नदिएको भन्दै श्रीमान्सहित उनको घर परिवारका सदस्यले ज्यान मार्ने नियतले कुटपिट गरी घाइते बनाएका थिए ।

अमृताले दाइजोसम्बन्धी कसुर तथा ज्यान मार्ने उद्योग मुद्दाको शीर्षकमा जाहेरी दिएपछि घटनामा संलग्न पीडितकी श्रीमान् र ससुरालाई शुक्रबार पक्राउ गरिएको प्रवक्ता कुँवरले जानकारी दिए ।