कोब्रा सर्प प्रयोग गरी श्रीमती मार्ने श्रीमानलाई दोब्बर जन्मकैदको सजाय


Advertisement

केरला : भारतको केरला राज्यका एक पुरुषलाई त्यहाँको अदालतले दोब्बर जन्मकैदको सजाय सुनाएको छ । कोब्रा प्रयोग गरी आफ्नी श्रीमतीलाई मारेको आरोपमा उनलाई केरला अदालतले दोब्बर जन्मकैदको सजाय सुनाएको हो ।

सन् २०२० मा केरला राज्यका २८ वर्षीय सुरज कुमारले श्रीमती उथराको कोब्रा प्रजातीको सर्प र सन्हाई प्रयोग गरी हत्या गरेका थिए । बिरामी उथरा करिब २ महिना लामो उपचारपछि माइतीमा बस्दै आएकी थिइन् । श्रीमतीलाई घर बोलाउन भन्दै ससुराली गएका उनले चाँडै निको हुने भन्दै सन्हाइ र कोब्रा सर्प सुतिरहेकी उथराको शरीरमा फ्याकेका थिए । विषालु सर्पको टोकाईबाट २५ वर्षीया उथराको सन् २०२० मे महिनामा मृत्यु भएको थियो ।





सो घटनापछि माइती पक्षले दिएको उजुरीको आधारमा सुरजलाई प्रहरीले उनकै घरबाट पक्राउ गरी अनुसन्धान थालेको थियो ।सुरजले दाइजोको नाममा श्रीमतीमाथि दमन गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उथराको मृत्युपछि दाइजोबाट प्राप्त सम्पती आफ्नो नाममा गर्ने लोभले उनले पटकपटक श्रीमतीको हत्या गर्न खोजेको र अन्तिमपटक कोब्रा प्रयोग गरी श्रीमतीको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

सोहि आधारमा सोमबार केरलाको कोलाम अदालतले सुरजले पटक पटक श्रीमतीलाई मार्न खोजेको पुष्टि गरेको थियो । बुधबार अदातले उनलाई श्रीमती मारेको आरोपमा दोब्बर जन्मकैदको सजाय सुनाएको स्थानिय सञ्चार माध्यममा खबर छ ।

अदालतले सुरजले पाएको सो सजायलाई सबैभन्दा दुर्लभ अपराधको सजाय भएको बताएको छ ।