१८ वैशाख, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई लक्षित गरी सामाजिक सञ्जालमा गलत सूचना वा द्वेषपूर्ण अभिव्यक्ति दिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी गलत, भ्रामक, चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने खालका सामग्री सामाजिक सञ्जालमा पोष्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच पुग्ने बताएको छ ।
यस्तो काम गरेमा निर्वाचन आचार संहिता विपरीत हुने र आयोगले कारबाही गर्ने प्रवक्ता शाालिग्राम शर्मा पौडेलले बताएका छन् ।
निर्वाचन अवधिमा हुने मिथ्य सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिए आचार संहिता उल्लंघन गरेको ठानी निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम कारबाही गर्ने आयोगले जनाएको छ । दफा २३ मा आयोगको निर्देशन विपरीतका काम गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । आयोगले आम सञ्चार माध्यमबाट हुने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति अनुगमन गर्न प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?